

काठमाडौं । नेपालका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई एसिया कर्पोरेट एक्सिलेन्सी एन्ड सस्टेनेबिलिटी अवार्ड (एसेस अवार्ड) ले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।
न्यायसम्पादनमा पुर्याएको योगदान, न्यायिक स्वतन्त्रताको पक्षमा गरेको पैरवी तथा मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा खेलेको भूमिकाको कदर गर्दै श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरिएको एसेस अवार्डले जनाएको छ।
नेपालको सर्वोच्च अदालतका २४औँ प्रधानन्यायाधीश श्रेष्ठले आफ्नो कार्यकालमा न्यायिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए। उनले संक्रमणकालीन न्यायका लागि कानुनी संरचना स्थापना गर्न भूमिका खेलेको तथा अन्तर्राष्ट्रिय मानवअधिकारका पक्षमा निरन्तर वकालत गरेको एसेस अवार्डको भनाइ छ।
न्यायिक स्वतन्त्रता, मानवअधिकार र कानुनी शासनको प्रवर्द्धनमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने क्रममा श्रेष्ठलाई प्रदान गरिएको यो अवार्डले नेपालको न्यायिक क्षेत्रमा उनले पुर्याएको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान दिलाएको छ।