

काठमाडौं । वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सबाट खेल्ने भएका छन्। फ्रेन्चाइज टोली विराटनगर किंग्सले आफ्नो आधिकारिक फेसबुक पेजमा रसेलसम्बन्धी भिडियो सार्वजनिक गर्दै उनको आगमन पुष्टि गरेको हो।
३८ वर्षीय रसेलको आगमनसँगै विराटनगर किंग्सको टोली थप बलियो हुने अपेक्षा गरिएको छ। आक्रामक ब्याटिङ र प्रभावशाली फास्ट बलिङका लागि परिचित रसेल विश्व क्रिकेटका चर्चित टी–२० खेलाडीमध्ये एक हुन्।
दायाँहाते ब्याट्सम्यान तथा दायाँहाते फास्ट बलर रसेलले विश्वका विभिन्न चर्चित फ्रेन्चाइज लिगमा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। जमैकामा जन्मिएका उनी वेस्ट इन्डिजले दुईपटक टी–२० विश्वकप जित्दा टोलीका सदस्यसमेत थिए।
रसेलले सन् २०१२ मा दिल्ली डेयरडेभिल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) मा डेब्यु गरेका थिए। सन् २०१४ देखि कोलकाता नाइट राइडर्स (केकेआर) मा आबद्ध उनले टोलीका लागि २ हजार ४ सयभन्दा बढी रन बनाउनुका साथै १०० भन्दा बढी विकेट लिइसकेका छन्। आईपीएलका चार सिजनमा उनले ३०० भन्दा बढी रन बनाएका छन्।
केकेआरका लागि सन् २०२३ को सिजनमा उनले आफ्नो १००औँ खेल खेलेका थिए। लामो समयदेखि आईपीएलमा प्रभावशाली प्रदर्शन गर्दै आएका रसेलको अनुभव विराटनगरका लागि महत्त्वपूर्ण हुने देखिन्छ।
अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेटमा समेत राम्रो अनुभव बटुलेका रसेलले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा १ हजार ३४ रन र टी–२० अन्तर्राष्ट्रियमा १ हजार १२२ रन बनाएका छन्। त्यस्तै, लिस्ट ए क्रिकेटमा उनको नाममा १ हजार ९५३ रन छ।
बलिङतर्फ उनले ओडीआईमा ७०, टी–२० अन्तर्राष्ट्रियमा ६१ र लिस्ट ए क्रिकेटमा १३१ विकेट लिएका छन्।
विस्फोटक ब्याटिङ, उपयोगी बलिङ र कठिन परिस्थितिमा खेलको नतिजा बदल्न सक्ने क्षमताका कारण रसेललाई टी–२० क्रिकेटका प्रभावशाली अलराउन्डरका रूपमा लिइन्छ। उनको आगमनले एनपीएलको तेस्रो संस्करणप्रति दर्शकको आकर्षण बढाउनुका साथै विराटनगर किंग्सको उपाधि यात्रामा समेत महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।