देशभर धुमधामसँग मनाइयो फूलपाती पर्व, हनुमानढोकामा विशेष समारोह

देशभर धुमधामसँग मनाइयो फूलपाती पर्व, हनुमानढोकामा विशेष समारोह

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन आज देशभर फूलपाती पर्व धुमधामका साथ मनाइएको छ। दसैँ घर तथा पूजाकोठामा शास्त्रीय विधिअनुसार नवदुर्गाको प्रतीकका रूपमा फूलपाती भित्र्याएर पर्व मनाइएको हो।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गा भवानीको आह्वान गरी पूजाआजा गरिँदै आएको दसैँ घरमा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइएको छ। नवपत्रिकाका नामले समेत चिनिने फूलपातीलाई नौवटी देवीको प्रतीकका रूपमा पूजा गर्ने परम्परा रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।

शास्त्रीय मान्यताअनुसार देवीलाई शक्तिशाली बनाउन सहायक देवीहरूको भूमिका रहने विश्वास गरिन्छ। फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ। समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार फूलपाती भित्र्याउन छुट्टै साइत आवश्यक पर्दैन।

हनुमानढोकामा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइयो

राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना गरिने हनुमानढोका दरबारको दसैँ घरमा पनि परम्पराअनुसार फूलपाती भित्र्याइएको छ। गोरखाबाट ल्याइएको फूलपातीलाई विशेष समारोहका बीच हनुमानढोकामा भित्र्याउने परम्परा रहिआएको छ।

हनुमानढोका दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँ घरका पुजारीसहित मगर समुदायका छ जनाले फूलपाती ल्याउने परम्परा छ। जीवनपुरबाट काठमाडौँको जमलसम्म भने काठमाडौँबाट गएका ब्राह्मण समुदायका छ जनाले फूलपाती ल्याउने गर्छन्।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, नेपाली सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा तथा सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती भित्र्याइएको हो। यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको टोली र मङ्गल धुन प्रस्तुत गर्ने मङ्गलिनी समूहको समेत सहभागिता रहेको थियो।

हनुमानढोकाको नासलचोकमा पूजा तथा मूलचोकमा बलिसहितको पूजा सम्पन्न गरेपछि फूलपाती दसैँ घरमा भित्र्याइएको हो।

राजतन्त्रका समयमा फूलपाती भित्र्याउने कार्यक्रममा राष्ट्रप्रमुखका रूपमा राजा सहभागी हुने परम्परा थियो। गणतन्त्र स्थापनापछि भने उक्त कार्यक्रममा कहिले संस्कृतिमन्त्री त कहिले मन्त्रालयका सचिव सहभागी हुँदै आएका थिए। यस वर्ष मन्त्री र सचिव उपत्यकाबाहिर रहेकाले मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सौभाग्य प्रधानाङ्गलगायत अधिकारीहरू सहभागी भएको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ।

नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट राजकाज सञ्चालन गर्न थालेसँगै गोरखाबाट फूलपाती ल्याएर भित्र्याउने परम्परा सुरु भएको मानिन्छ।

दसैँको रौनक बढ्यो, घर फर्किनेको चहलपहल तीव्र

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखेसँगै सुरु भएको दसैँको चहलपहल फूलपातीदेखि थप बढेको छ। सरकारी कार्यालयमा बिदा सुरु भएपछि विभिन्न पेसा तथा व्यवसायमा आबद्ध मानिस परिवारसँग दसैँ मनाउन आफ्नो गाउँघर फर्किने क्रम तीव्र बनेको छ।

दसैँको आगमनसँगै ग्रामीण क्षेत्रमा दोबाटो, चौतारो र चौबाटामा लिङ्गे पिङ तथा रोटेपिङ हाल्ने परम्पराले पर्वको रौनक थप बढाएको छ। बजारमा पनि किनमेल गर्नेको भीड देखिएको छ। विशेषगरी खाद्यान्न, कपडा, जुत्ता तथा चप्पल पसलमा ग्राहकको चहलपहल बढेको छ।

फूलपातीसँगै दसैँको उल्लास देशभर छाएको छ भने परिवार तथा आफन्तसँग भेटघाट गरी टीका र जमरा ग्रहण गर्ने तयारीमा सर्वसाधारण जुटेका छन्।