

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘आईसीसी एसिया सम्मेलन’ आगामी मंसिरमा नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापन तथा आईसीसीको आयोजनामा मंसिर १ देखि ५ गतेसम्म (नोभेम्बर १७ देखि २१ सम्म) सम्मेलन हुन लागेको हो। क्यानका सचिव पारस खड्काले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सम्मेलनबारे जानकारी दिएका हुन्।
सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त राष्ट्र तथा एसोसिएट सदस्य राष्ट्रका आधिकारिक प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका उच्चपदस्थ व्यक्तिहरू सहभागी हुनेछन्।
क्यानले यस सम्मेलनबाट नेपाली क्रिकेटको संस्थागत विकास, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा क्रिकेटको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। सम्मेलनले अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपालको उपस्थिति थप सुदृढ बनाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्याउने क्यानको अपेक्षा छ।
सम्मेलनमा सहभागी हुन नेपाल आउने विदेशी प्रतिनिधिहरूले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतका इलिमिनेटर र फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्नेछन्।