

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको छ।
राखेपले असोज १८ गते गुन्जनलाई क्यानको सदस्यमा मनोनीत गरेको जानकारी सार्वजनिक गरेको थियो। तर, असोज २८ गतेको सदस्यसचिवस्तरीय निर्णयअनुसार उनलाई उक्त जिम्मेवारीबाट फिर्ता गरिएको हो।
राखेपको संघसंस्था समन्वय शाखाले जारी गरेको पत्रमा नेपाल क्रिकेट संघको विधानको परिच्छेद २, धारा ३ को उपधारा (४) मा रहेको व्यवस्थाअनुसार गुन्जनलाई सदस्य पदबाट फिर्ता गरिएको उल्लेख छ।
राखेपको संघसंस्था समन्वय शाखाका लिलाराम बस्नेतले हस्ताक्षर गरेको उक्त पत्र नेपाल क्रिकेट संघलाई समेत बोधार्थ पठाइएको छ। यद्यपि, गुन्जनलाई पदबाट फिर्ता बोलाउनुको कारण भने पत्रमा खुलाइएको छैन।
यसअघि नयाँ सरकार गठन भएपछि राखेपले छुम्बी लामालाई क्यानको सदस्य पदबाट फिर्ता बोलाएको थियो। उनको स्थानमा गुन्जनलाई मनोनीत गरिएको थियो। तर, मनोनीत भएको दुई हप्ता नपुग्दै राखेपले गुन्जनलाई पनि पदबाट फिर्ता बोलाएको हो।
गुन्जन यसअघि निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको स्वकीय सचिवका रूपमा कार्यरत थिइन्।
गुन्जनसँगै राखेपले अन्य चार खेल संघका सदस्यलाई पनि पदबाट फिर्ता बोलाएको छ। राखेपले ब्याडमिन्टन संघका सदस्य शम्भु कार्की, सुटिङ संघका सदस्य कृष्णहरि सैजु, पौडी संघका सदस्य विनोद श्रेष्ठ र साइक्लिङ संघका सदस्य गणेश मैनालीलाई समेत फिर्ता बोलाएको हो।