

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहका नेता बिमलेन्द्र निधिले विशेष महाधिवेशनपछि कांग्रेस वैचारिक र सांगठनिक रूपमा दुई धारमा विभाजित भएको बताएका छन् । उनले अब पार्टीलाई पुरानै अवस्थामा फर्काउनेभन्दा नयाँ ढंगले संगठन निर्माण गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।
जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै निधिले पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष नै भएको आरोप लगाए ।
कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा जारी रहँदा जनकपुर पुगेका निधिले लोकतन्त्र केवल सिद्धान्त नभई प्रक्रिया र पद्धति पनि भएको बताए । बहुमतका आधारमा मात्रै पार्टी सञ्चालन हुन नसक्ने उनको भनाइ थियो ।
‘जसले विशेष महाधिवेशन बोलायो, उसैले पार्टी फुटाएको हो । हामीले सुरुदेखि नै प्रक्रियाको कुरा उठाउँदै आएका थियौँ, तर त्यसलाई बेवास्ता गरियो,’ निधिले भने, ‘पुरानो पुस्ताका नेताहरूले अझै पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् । त्यसैले हामीले अझ मेहनतका साथ नयाँ कार्यदिशा तय गर्नुपर्छ ।’
निर्वाचन आयोगमा पेश गरिएको तथ्यांकलाई आधार बनाउँदै निधिले आफ्नो पक्षसँग ४६ प्रतिशतको बलियो आधार रहेको दाबी गरे । ६ प्रतिशत मतलाई अवमूल्यन गरेर गरिएका निर्णय स्वीकार्य नहुने उनको जिकिर थियो ।
विशेष महाधिवेशन र त्यसपछि विकसित घटनाक्रमले तत्काल पार्टी एकता सम्भव नहुने संकेत गर्दै निधिले अब संगठनलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिए ।
‘हामीले आफ्नो घरलाई अझ मजबुत बनाउनुपर्छ । गिरिजाबाबु र शेरबहादुरजी मिल्न तीन वर्ष लागेको थियो । परिस्थिति कहिले कस्तो हुन्छ भन्न सकिन्न,’ उनले भने, ‘तर अहिले हामीले आफ्नो संगठन निर्माणलाई नै प्राथमिकता दिनुपर्छ ।’
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निधिले कांग्रेस कार्यकर्तालाई वडा तहदेखि नै नयाँ ऊर्जा र उत्साहका साथ संगठन निर्माणमा जुट्न निर्देशन दिए ।
उनले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता पनि औँल्याए । आफूलाई आलोचना गर्नेहरूलाई जवाफ दिँदै निधिले आफू वैचारिक रूपमा अझै सक्रिय रहेको र कांग्रेसको पुनर्निर्माणका लागि प्रतिबद्ध रहेको बताए ।