कांग्रेस महाधिवेशन : बन्दसत्रबाट चारवटै प्रतिवेदन पारित

कांग्रेस महाधिवेशन : बन्दसत्रबाट चारवटै प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा प्रस्तुत चारवटै प्रतिवेदन पारित भएका छन् । खुलामञ्चमा जारी बन्दसत्रले सभापति गगनकुमार थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरेको हो ।

महाधिवेशनअन्तर्गत सोमबारदेखि सुरु भएको बन्दसत्रमा ती प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले छलफल तथा धारणा राख्दै आएका थिए । छलफलमा सातै प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसमेत सहभागी भएका थिए ।

सभापति थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति शर्माले राजनीतिक संस्कृतिमा आएको क्षय र त्यसको युगानुकूल रूपान्तरणसम्बन्धी प्रस्ताव, महामन्त्री घिमिरेले सङ्गठनसम्बन्धी तथा कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन बन्दसत्रमा प्रस्तुत गरेका थिए । प्रतिवेदन पारित भएसँगै कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रको महत्वपूर्ण कार्यसूची पूरा भएको छ ।