दसैँ–तिहारमा उपत्यकाबाट ८ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान

दसैँ–तिहारमा उपत्यकाबाट ८ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान

काठमाडौं । दसैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। यस वर्ष चाडपर्वका लागि उपत्यकाबाट कम्तीमा ८ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ।

काठमाडौँका प्रमुख बसपार्क तथा उपत्यका बाहिरिने नाकामा घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

‘विशेषगरी दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या क्रमशः बढ्दै गएको छ। यो वर्ष दसैँ, तिहारलगायतका चाडपर्वका लागि उपत्यकाबाट कम्तीमा ८ लाखभन्दा बढी बाहिरिने अनुमान गरिएको छ,’ सुवेदीले भने।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौँलाका अनुसार चाडपर्व नजिकिँदै जाँदा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्न थालेको छ। देशका विभिन्न जिल्लातर्फ जाने यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्‍याउन नियमित सेवाका अतिरिक्त आवश्यकताअनुसार थप सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको उनले बताए।

चाडपर्वका बेला यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट बिक्री, सवारीसाधनको अवस्था, भाडादर तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमनसमेत तीव्र बनाएका छन्। यात्रुलाई तोकिएको भाडा तिर्न र आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरिएको छ।

यात्रुको चाप बढ्ने भएकाले मुख्य सडक तथा उपत्यका बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरिएको ट्राफिक प्रहरीले जनाएको छ। सम्भावित भीडभाड हुने स्थानमा आवश्यक जनशक्ति परिचालन गरिने सुवेदीले बताए।

दसैँ–तिहारमा ठूलो सङ्ख्यामा नागरिक उपत्यकाबाट बाहिरिने भएकाले सार्वजनिक यातायातमा हुने सम्भावित ठगी, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा असुरक्षित रूपमा सवारी सञ्चालन गर्ने गतिविधिमाथि समेत निगरानी बढाइने भएको छ।

सम्बन्धित निकायले घर फर्किने यात्रुलाई अग्रिम टिकटको व्यवस्था गर्न, सवारीसाधनको अवस्था बुझेर यात्रा गर्न तथा यात्राका क्रममा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।