

काठमाडौँ । डा. शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजक समितिले गुल्मी जिल्ला संयोजकको जिम्मेवारी वेदबहादुर थापामगरलाई दिएको छ। डा. कोइरालाले मंगलबार थापामगरलाई १५औँ महाधिवेशन आयोजनाका लागि गुल्मी जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन्। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएको कांग्रेसले महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु गरेसँगै डा. कोइराला पक्षले पनि छुट्टै महाधिवेशनको तयारी अघि बढाएको हो।
सोही क्रममा जिल्ला तथा प्रदेश तहका अधिवेशन सम्पन्न गर्न विभिन्न नेताहरूलाई जिम्मेवारी दिने प्रक्रिया अघि बढाइएको उक्त पक्षले जनाएको छ। डा. कोइराला पक्षले मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। त्यसका लागि असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरिएको जनाइएको छ।