काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको बुधबार साँझ निधन भएको छ। उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा ८६ वर्षीय शर्माको निधन भएको केयूका उपकुलपति विवेक बरालले जानकारी दिए।

सिन्धुलीको खुर्कोटमा जन्मिएका शर्माले नेपालको प्राविधिक तथा उच्च शिक्षा क्षेत्रको विकासमा लामो समय योगदान गरेका थिए।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापना भएपछि उनी त्यसका पहिलो कार्यकारी निर्देशक बनेका थिए। काठमाडौं विश्वविद्यालय स्थापनाको प्रक्रियामा समेत उनी सक्रिय थिए। विश्वविद्यालय स्थापना भएपछि उनी संस्थापक उपकुलपति बने।

शर्माले सन् १९९१ देखि २०१२ सम्म लगातार २१ वर्ष काठमाडौं विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए। सो अवधिमा उनले विश्वविद्यालयको शैक्षिक तथा संस्थागत विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

उनी पछिल्लो समय पनि काठमाडौं विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीमा आबद्ध थिए। शर्माले नेपाल, भारत र बेलायतका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए। नेपालको उच्च तथा प्राविधिक शिक्षा क्षेत्रको विकासमा दशकौँ योगदान गरेका शर्माको निधनलाई शिक्षा क्षेत्रका लागि महत्वपूर्ण क्षतिका रूपमा लिइएको छ।