भारी वर्षाको चेतावनीपछि अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

भारी वर्षाको चेतावनीपछि अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । भारीदेखि अति भारी वर्षाको चेतावनी जारी भएका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित विपद्को जोखिम सामना गर्न अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार थप वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण दुर्घटना, चोटपटक र जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मन्त्रालयले आकस्मिक स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न निर्देशन दिएको हो।

मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई (एचईडीएमयू)ले विज्ञप्ति जारी गर्दै अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्य जनशक्ति, औषधि तथा उपचार सामग्री तयारी अवस्थामा राख्न भनेको छ।

विपद्का कारण घाइते तथा बिरामीको संख्या बढ्न सक्ने भएकाले आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न र आवश्यकताअनुसार जनशक्ति परिचालन गर्न मन्त्रालयले निर्देशन दिएको छ।

त्यस्तै, बिरामीको स्थानान्तरण तथा रेफरल सेवा सहज बनाउन एम्बुलेन्सको प्रभावकारी सञ्चालन तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि भनिएको छ।

विपद्को अवस्था सिर्जना भएमा संघीय तथा प्रदेशस्तरका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी तथा पीएचईओसी)सँग समन्वय गरी आवश्यक व्यवस्थापन गर्न मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।

मन्त्रालयले विपद्का समयमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन आवश्यक औषधि, उपचार सामग्री र जनशक्तिको पूर्वतयारी गर्नसमेत निर्देशन दिएको छ।