साउनमै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स

साउनमै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार यो रकम गत आर्थिक वर्षको सोही महिनाको तुलनामा २१.२ प्रतिशत बढी हो। गत आवको साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

अघिल्लो आर्थिक वर्षभर भने नेपालमा कुल २३ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

चालु आवको साउनमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले बढेर १ अर्ब ४० करोड डलर पुगेको छ। गत आवको सोही अवधिमा डलरमा रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले बढेको थियो।

यस्तै, साउनमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा यस्तो आय १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो।

चालु आवको पहिलो महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४२ हजार ६९३ रहेको छ। त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या २७ हजार ७४८ रहेको राष्ट्र बैंकले जनाएको छ।

गत आवको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६४४ थियो।