पूँजी बजार सुधार कार्ययोजनाको प्रभाव, नेप्से ४८ अंकले बढ्यो

पूँजी बजार सुधार कार्ययोजनाको प्रभाव, नेप्से ४८ अंकले बढ्यो

काठमाडौं । सरकारले सार्वजनिक गरेको पूँजी बजार सुधार कार्ययोजनाको सकारात्मक प्रभाव बुधबार सेयर बजारमा देखिएको छ। यस दिन नेप्से परिसूचक ४८.५७ अंक (१.८७ प्रतिशत) ले बढेर २ हजार ६३३ विन्दुमा पुगेको छ।

यो नेप्सेको भदौ १ गतेयताकै उच्च विन्दु हो। मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीगत लाभकर हालको भन्दा आधा घटाउनेलगायतका बजार सुधारका योजना सार्वजनिक गरेपछि लगानीकर्तामा उत्साह देखिएको हो।

बुधबार बजार खुलेको पहिलो मिनेटमै नेप्से २ हजार ६७९ विन्दुसम्म पुगेको थियो। त्यसपछि घट्दै १२ः५४ बजे २ हजार ६११ विन्दुसम्म झरेको बजार करिब १ बजेपछि पुनः उकालो लागेको थियो।

कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। बुधबार ८ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ, जबकि अघिल्लो दिन ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो। आजको कारोबार रकम असार ३० गतेयताकै उच्च हो।

आज सबै समूहगत सूचक बढेका छन्। बैंकिङ १.९०, विकास बैंक १.७६, फाइनान्स २.२३, होटल तथा पर्यटन १.४२, जलविद्युत् १.८४, लगानी २.५२, जीवन बीमा २.५९, उत्पादन तथा प्रशोधन ०.७७, माइक्रोफाइनान्स १.७५, निर्जीवन बीमा २.८२, अन्य २.१२ र व्यापार ०.९२ प्रतिशतले बढेका छन्।

आज २६५ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो।

धौलागिरि लघुवित्तको सेयर मूल्य सर्वाधिक १४.९६ प्रतिशत बढेको छ। सिन्धु विकास बैंक ११.०३, मल्टिपर्पस फाइनान्स ९.७३, जानकी फाइनान्स ८.०६ र मिडसोलु हाइड्रोपावर ६.६७ प्रतिशतले बढेका छन्।

यता बोटलर्स नेपाल बालाजुको सेयर मूल्य २.९७ प्रतिशत, रिलायन्स स्पिनिङ मिल्स १.९४ प्रतिशत र सर्वोत्तम पेन्ट्स १.६६ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी र लक्ष्मी सनराइज बैंक अगाडि रहेका छन्।