आज गणेश चतुर्थी, गणेश मन्दिरमा भक्तजनको भीड

आज गणेश चतुर्थी, गणेश मन्दिरमा भक्तजनको भीड

काठमाडौँ । विघ्नहर्ता एवं अग्रपूजाका अधिकारी भगवान् श्रीगणेशको पूजा आराधना गर्न आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभरका गणेश मन्दिरमा भक्तजनको भीड लागेको छ ।

शास्त्रीय मान्यताअनुसार भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको हो । यस अवसरमा उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक र कमलादी गणेशलगायत मन्दिरमा विशेष पूजा गरी गणेश जन्मोत्सव मनाइँदैछ ।

धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार शिव–पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजा गर्ने अधिकार प्राप्त छ । भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत बसेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भन्ने कामनासहित गणेशको पूजा गर्ने शास्त्रीय विधान रहेको छ ।

मङ्गल चतुर्थीसमेत भनिने आजको दिन नेवार समुदायले ‘चथा’ पर्वका रूपमा मनाउने गर्छ । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने परम्परा छ । यस वर्ष गणेश चतुर्थी मङ्गलबार परेकाले विशेष महत्त्व रहेको बताइएको छ ।

राष्ट्रिय धर्मसभा नेपालले विसं २०६५ देखि विभिन्न कार्यक्रम आयोजना गरी गणेश चतुर्थी मनाउँदै आएको छ । धर्मसभाका अध्यक्ष प्रा.डा. माधव भट्टराईका अनुसार आज विभिन्न गणेश मन्दिरमा पूजा आराधना तथा प्रवचन कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रिय धर्मसभाले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन गणेश रथयात्रा गर्दै आएको छ । यस वर्ष पञ्चमी तिथि पनि आजै परेकाले गणेश रथयात्रा समेत आजै आयोजना गरिने धर्मसभाले जनाएको छ ।