

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपद्को सामना गर्न चीन र नेपालले मिलेर काम गर्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित काष्ठमण्डप संवादमा बोल्दै राजदूत झाङले चीन र नेपाल एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताए।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम कुनै एक देशको सीमाभित्र मात्र सीमित नरहने भन्दै उनले विपद् व्यवस्थापनमा क्षेत्रीय तथा सीमापार सहकार्य आवश्यक रहेकोमा जोड दिए। चिनियाँ राष्ट्रपति सी चिनफिङको भनाइ उद्धृत गर्दै उनले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित नरहने र जलवायु परिवर्तनको सामना कुनै मुलुकले एक्लैले गर्न नसक्ने बताए।
राजदूत झाङले हिमाली विपद्को जोखिम न्यूनीकरणका लागि चीन र नेपालबीच जल तथा मौसमसम्बन्धी निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने बताए। विपद्को पूर्वसूचना प्रणाली विकास, अत्याधुनिक प्रविधिको प्रयोग तथा संयुक्त आपत्कालीन उद्धार अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
भोटेकोसी बाढीपछि चीनले नेपाललाई गरेको सहयोगले दुई देशबीचको सहकार्यको महत्त्व थप स्पष्ट भएको उनले बताए। उनका अनुसार चीनले नेपाललाई २४ लाख अमेरिकी डलर नगद सहयोग गर्नुका साथै ड्रोन, बेलीब्रिज, डीएनए परीक्षण उपकरण र उद्धार डुंगालगायत राहत सामग्री उपलब्ध गराएको छ।
विपद् व्यवस्थापनका लागि सुरुङ उद्धार, डीएनए पहिचान तथा फरेन्सिक पहिचानमा विशेषज्ञता भएका २४ जना विज्ञसमेत नेपाल पठाइएको राजदूत झाङले जानकारी दिए।
हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम आगामी दिनमा थप गम्भीर बन्न सक्ने भएकाले पूर्वतयारी, सूचना आदानप्रदान र उद्धार क्षमता बलियो बनाउनुपर्ने उनले बताए।
राजदूत झाङले चीन र नेपालले हिमाली विपद्लाई साझा चुनौतीका रूपमा लिएर हरित विकास, स्वच्छ ऊर्जा, वातावरण संरक्षण तथा विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा समेत सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।