यूएईलाई ४४ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन

यूएईलाई ४४ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधि जितेको छ। फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। जितसँगै नेपालले सन् २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थानसमेत सुरक्षित गरेको छ।

नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.२ ओभरमा २६८ रनमा अलआउट भयो। यूएईका राहुल चोपडाले शतकीय पारी खेल्दै अविजित १०० रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। सोहैब खानले ५२, तनिश सुरीले ४२ तथा हरप्रीत सिंहले ३३ रन बनाए।

नेपालका लागि करण केसीले ३ विकेट लिए। ललित राजवंशीले २ विकेट लिँदा सन्दीप लामिछाने, रोहित पौडेल, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले समान १ विकेट लिए।

यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो।

नेपालका ओपनर आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेल्दै १०२ रन बनाए। उनले १०६ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। गुल्सन झाले ५२ रनको अर्धशतकीय पारी खेले।

त्यस्तै, अर्जुन कुमालले ४३, कप्तान रोहित पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८ तथा बसिर अहमदले अविजित १५ रन बनाए। यूएईका इब्रार अहमदले ४ विकेट लिए। खुजैमा तनवीरले २ तथा हैदर अली र अदीब उस्मानीले समान १ विकेट लिए।