

रूपन्देही । भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले विभिन्न राहत, बीमा तथा सामाजिक सुरक्षा सुविधाबापत २५ लाख १० हजार रुपैयाँसम्म पाउने भएका छन्।
नेपाल प्रहरीका अनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई कल्याण कोषबाट ३ लाख, किरिया खर्च ४० हजार, राष्ट्रिय वाणिज्य बैंकबाट ५ लाखको बीमा, राष्ट्रिय बीमा संस्थानबाट २ लाख तथा नेपाल प्रहरी संगठनबाट विशेष राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध हुनेछ।
त्यस्तै, कर्मचारी सञ्चय कोषबाट दुर्घटना क्षतिपूर्तिबापत २ लाख र किरिया खर्च ४० हजार रुपैयाँ पाउने व्यवस्था छ। नागरिक लगानी कोषका स्वैच्छिक बचतकर्ताले प्रचलित सर्तअनुसार दुर्घटना बीमाबापत २ लाख र किरिया खर्चबापत ३० हजार रुपैयाँ पाउनेछन्।
यी विभिन्न सुविधा तथा बीमा रकम जोड्दा मृतक प्रहरी कर्मचारीका परिवारले २५ लाख १० हजार रुपैयाँसम्म प्राप्त गर्ने प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
प्रभावित प्रहरी परिवारको जीविकोपार्जनमा सहयोग गर्नुका साथै मृतक तथा प्रभावित प्रहरी कर्मचारीका छोराछोरीको शिक्षाका लागि आवश्यक व्यवस्था मिलाउने उनले बताएका छन्। कल्याण कोषबाट लिइएका ऋणमा आवश्यकताअनुसार सहुलियत तथा मिनाहाको व्यवस्था गर्ने प्रतिबद्धता पनि कार्कीले व्यक्त गरेका छन्।
नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले संगठन, कल्याण कोष तथा सम्बन्धित बीमा र सामाजिक सुरक्षा निकायबाट प्राप्त हुने सुविधालाई समन्वय गरी परिवारलाई उपलब्ध गराइने जानकारी दिए।
भोटेकोशी बाढीमा तीन प्रहरी कर्मचारीको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। बाढीपछि प्रहरीले उद्धार, खोजी तथा राहतसँगै प्रभावित प्रहरी कर्मचारी र उनीहरूका परिवारको सहयोगका लागि विशेष व्यवस्था अघि बढाएको जनाएको छ।