

मुम्बई । हिन्दी चलचित्रमा पहिलो फिल्मबाटै दर्शकको मन जित्न सफल भए पनि पछि बलिउडबाट ओझेलमा परेका अभिनेत्रीहरूको सूचीमा टुलिप जोशीको नाम पनि आउँछ। सेप्टेम्बर ११ मा जन्मदिन मनाउने टुलिपले छोटो समयमै बलिउडमा आफ्नो पहिचान बनाएकी थिइन्।
सन् १९७९ सेप्टेम्बर ११ मा मुम्बईमा जन्मिएकी टुलिप हिन्दु पिता र क्रिस्चियन आमाकी छोरी हुन्। उनकी आमा आर्मेनियाली मूलकी जाबेल जोशी र पिता गुजरातका किशोर जोशी हुन्। जमनाबाई नर्सी स्कुलबाट अध्ययन पूरा गरेपछि उनले रसायनशास्त्रमा स्नातक तह उत्तीर्ण गरिन्।
कलेज पढ्दादेखि नै विज्ञापनमा काम गर्न थालेकी टुलिपले सन् २००२ मा प्रदर्शनमा आएको ‘मेरे यार की शादी है’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्। उनले उदय चोपडा र जिमी शेरगिलसँग अभिनय गरेको उक्त रोमान्टिक–कमेडी चलचित्रले उनलाई दर्शकमाझ परिचित बनायो।
पहिलो चलचित्रबाट लोकप्रियता पाएपछि उनले ‘दिल मांगे मोर’, ‘मातृभूमि’, ‘धोखा’, ‘बच्चन’ र ‘जय हो’ लगायतका चलचित्रमा अभिनय गरिन्। तर, लगातार काम गरे पनि उनले बलिउडमा अपेक्षित सफलता र ठूलो स्टारडम हासिल गर्न सकिनन्।
टुलिपले क्याप्टेन विनोद नायरसँग करिब चार वर्षको सम्बन्धपछि विवाह गरेकी थिइन्। चलचित्र क्षेत्रबाट टाढिएपछि उनी अहिले पति र परिवारसँग समय बिताउँदै आएकी छन्।
अभिनयसँगै टुलिप व्यवसायमा पनि सक्रिय छिन्। उनले सन् २०१७ मा पति विनोद नायरसँग मिलेर ‘किमाया कन्सल्टिङ’ कम्पनी स्थापना गरेकी थिइन्। पछिल्लो समय उनी वैदिक ज्योतिषमा समेत संलग्न रहेको बताइन्छ। उनले सम्बन्ध, स्वास्थ्य तथा पेसा–व्यवसायलगायत विषयमा ज्योतिषीय परामर्श दिँदै आएकी छन्।