

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपछि २९ भन्दा बढी देशले खोज, उद्धार तथा राहतका लागि सहयोग उपलब्ध गराएका छन्। विभिन्न मुलुकले प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली पठाउनुका साथै आपत्कालीन राहत सामग्रीसमेत उपलब्ध गराएका छन्।
परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार भारत, चीन, संयुक्त अरब इमिरेट्स (यूएई), बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी, लात्भिया, लक्जमबर्ग, मलेसिया, म्यान्मार, भुटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलंका, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आयरल्यान्ड र चेक रिपब्लिकलगायत देशले नेपाललाई विभिन्न किसिमका सहायता उपलब्ध गराएका छन्।
त्यसैगरी, युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसंघ तथा त्यसका विशिष्टीकृत एजेन्सीलगायत अन्तर्राष्ट्रिय संस्थाले पनि बाढीपीडितका लागि सहयोग उपलब्ध गराइरहेका छन्। परराष्ट्र मन्त्रालयले नेपालले आफ्नो पहुँचमा रहेका सबै स्रोतसाधन परिचालन गरे पनि विपद्को आकार र जटिलतालाई हेर्दा अन्तर्राष्ट्रिय समुदायको निरन्तर ऐक्यबद्धता र सहयोग आवश्यक रहेको जनाएको छ।
भारतले खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन सुरुङ विज्ञ, चिकित्सक र फोरेन्सिक विज्ञसहितको टोली नेपाल पठाएको छ। भारतले बाढीपीडितका लागि ठूलो परिमाणमा राहत सामग्रीसमेत उपलब्ध गराएको छ।
त्यस्तै, चीनबाट पनि राहत सामग्रीसँगै सुरुङ तथा फोरेन्सिक विज्ञहरूको टोली नेपाल आएको छ। दक्षिण कोरिया र सिंगापुरबाट समेत खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन टोली परिचालन गरिएको छ।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार बाढीमा परी हालसम्म १ हजार ३४१ जनाको मृत्यु भएको छ भने करिब ५ हजार जना सम्पर्कविहीन छन्।