बाढीपीडितका लागि राहत कोषमा ११ अर्बभन्दा बढी मौज्दात

बाढीपीडितका लागि राहत कोषमा ११ अर्बभन्दा बढी मौज्दात

काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढिरहेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९७१ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सरकारले यसअघि नै उक्त कोषमा जम्मा भएको एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नौवटा वाणिज्य बैंकमा ८ अर्ब ६ करोड २५ लाख १५ हजार ५१८ रुपैयाँ जम्मा रहेको छ।

त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा एक करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग रकम संकलन भइरहेको छ।