

दार्चुला । दार्चुलामा पहिरोपछि चौलानी नदीको बहाव सामान्य अवस्थामा फर्किएसँगै जोखिम घटेको छ। अपिहिमाल गाउँपालिका–१ भट्टारमा शुक्रबार पहिरो खसेर नदी आंशिक रूपमा थुनिएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको थियो। तर शनिबार नदीको बहाव सामान्य रहेको र पानी आफ्नै गतिमा निकास भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए।
‘नदीको तल्लो भूभागमा पानीको बहाव हेर्दा ठूलो उतारचढाव देखिएको छैन, सामान्य छ। पानी आफ्नै गतिमा निकास भइरहेको छ,’ उनले भने। पहिरो खस्ने क्रमसमेत रोकिएको र तत्काल थप जोखिम नदेखिएको उनले बताए। नदी किनारमा केही गेग्रान थुप्रिए पनि त्यसबाट खासै असर नपरेको उनको भनाइ छ।
पहिरोका कारण जोखिममा परेका आठ घरपरिवारलाई शुक्रबार नै सुरक्षित स्थानमा सारिएको छ। उनीहरूमध्ये केही आफन्तको घरमा बसेका छन् भने वडा कार्यालयले व्यवस्थापन गरिरहेको जनाइएको छ।
हालसम्म पहिरोबाट मानवीय तथा पशुचौपायामा कुनै क्षति नभएको प्रजिअ पौडेलले बताए। यद्यपि, अपिहिमाल बेसक्याम्प जाने पैदलमार्ग भने अवरुद्ध रहेको छ। उक्त क्षेत्रमा मोटरबाटो नपुगेकाले पैदल हिँडेर मात्र पुग्न सकिने उनले जानकारी दिए।
पहिरो खसेको स्थान सदरमुकाम खलंगाबाट करिब १६–१७ घण्टाको पैदल दूरीमा रहेको छ। घटनास्थलमा प्रहरी टोली पुगिसकेको प्रजिअ पौडेलले बताए।