रसुवा बाढीमा ९०३ जनाको मृत्यु, ४ हजार ३४७ जना सम्पर्कविहीन

रसुवा बाढीमा ९०३ जनाको मृत्यु, ४ हजार ३४७ जना सम्पर्कविहीन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी बाढीमा परी हालसम्म ९०३ जनाको मृत्यु भएको पुष्टि गरेको छ। प्राधिकरणका अनुसार बाढीमा २६७ जना घाइते भएका छन् भने करिब ४ हजार ३४७ जना अझै सम्पर्कविहीन छन्। बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन्।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहित २० हजार ८९९ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म बाढी तथा पहिरोमा फसेका १० हजार ४५९ जनाको उद्धार गरिएको छ।

प्राधिकरणका अनुसार नेपाली सेनाले हेलिकप्टरमार्फत ३ हजार ३४४ नेपाली र २५२ विदेशी नागरिकको उद्धार गरेको छ। उद्धारका क्रममा हालसम्म ४११ पटक हवाई उडान गरिएको जनाइएको छ।

सरकारले मुख्य प्रभावित जिल्लाहरू रसुवामा एक करोड रुपैयाँ, नुवाकोटमा एक करोड रुपैयाँ र धादिङमा ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। त्यस्तै, प्रभावित १५ स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ।

प्रभावित क्षेत्रमा खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने काम पनि भइरहेको छ। खोज, उद्धार, राहत र पुनःस्थापनाको कार्यलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ।