आज पनि देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षा हुने

आज पनि देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार देशभर वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार दिउँसो तथा राति केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।

महाशाखाले शुक्रबार बिहान ८ बजे जारी गरेको मौसम बुलेटिनअनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा लुम्बिनीका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

मधेस तथा कोशी र बागमतीका तराई भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुनसक्ने जनाइएको छ।

काठमाडौं उपत्यकामा पनि आज मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार उपत्यकामा अपराह्नतिरबाट वर्षा सुरु हुने सम्भावना छ। महाशाखाले भारी वर्षा हुनसक्ने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिमप्रति सतर्क रहनसमेत आग्रह गरेको छ।