

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै बढी खपत गराउन मौसमी विद्युत् महसुल लागू गर्ने तयारी भइरहेको बताएका छन्।
मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका प्रतिनिधिसँग विराटनगरमा भएको छलफलमा मन्त्री श्रेष्ठले धेरै विद्युत् खपत गर्ने उद्योग तथा ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने गरी महसुल संरचना सुधार गर्न सरकार केन्द्रित रहेको बताए।
उनका अनुसार यस्तो व्यवस्थाले उद्योगको उत्पादन लागत घटाउन, विद्युत् खपत बढाउन र वर्षायाममा प्रणालीमा उपलब्ध अतिरिक्त विद्युत् स्वदेशमै उपयोग गर्न सहयोग पुग्नेछ।
मन्त्री श्रेष्ठले सुनसरी–मोरङ क्षेत्रमा नौवटा नयाँ सबस्टेसन निर्माण भइरहेकाले ती सञ्चालनमा आएपछि विद्युत् आपूर्ति थप भरपर्दो र दिगो हुने बताए।
उद्योगलाई नियमित तथा गुणस्तरीय विद्युत् उपलब्ध गराउन र विद्युत् प्रयोगका कारण अनावश्यक अतिरिक्त भार नपर्ने गरी महसुल समायोजन गर्न सरकार संवेदनशील रहेको उनको भनाइ छ।
उद्योग स्थापना गर्नुअघि आवश्यक विद्युत् क्षमता, प्रसारण लाइन र आपूर्ति पूर्वाधारको अवस्थाबारे स्पष्ट जानकारी दिने प्रणाली विकास गर्नुपर्नेमा पनि उनले जोड दिए। नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षेत्रमा उपलब्ध विद्युत् क्षमता, थप क्षमता विस्तार र नयाँ उद्योगका लागि आवश्यक पूर्वाधारबारे उद्योगीलाई नियमित जानकारी गराउने तयारी गरिरहेको उनले बताए।
छलफलमा उद्योगी–व्यवसायीले नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न माग गरेका थिए। उनीहरूले बर्जु र केरौन सबस्टेसनको निर्माण शीघ्र सम्पन्न गर्न तथा कटहरी औद्योगिक क्षेत्रमा विद्युत् पूर्वाधार विस्तार गर्न आग्रह गरे।
उनीहरूले उत्पादनमूलक उद्योगका लागि डिमान्ड शुल्क हटाउन, आवश्यक अनुमति र पूर्वाधार सुनिश्चित भए ५ देखि ५० मेगावाटसम्म विद्युत् खपत गर्न सक्ने गरी लगानीको वातावरण बनाउन माग गरेका छन्।
त्यस्तै, अर्बभन्दा बढी चुक्ता पुँजी भएका उद्योगलाई आफ्नै प्रयोजनका लागि विद्युत् उत्पादन गर्न अनुमति दिनुपर्ने तथा ट्रान्सफर्मर, कन्डक्टर र केबलको गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउनुपर्ने माग पनि उद्योगीहरूले राखेका छन्।
विद्युत्मा लगाइएको भ्याट हटाउनुपर्ने मागसमेत उनीहरूले गरेका छन्। विद्युत् महसुल र अन्य लागत घटाउन सके उत्पादन लागत कम भई नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ्ने उद्योगीहरूको भनाइ थियो।