काठमाडौंमा सार्वजनिक यातायात पत्ता लगाउन ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक

काठमाडौंमा सार्वजनिक यातायात पत्ता लगाउन ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको अवस्थाबारे घरमै बसेर जानकारी लिन सकिने ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक गरिएको छ।

संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकमा परिषद् अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार एप सार्वजनिक गरेकी हुन्।

एपमार्फत जीपीएस जडान भएका करिब १ हजार २ सय सार्वजनिक सवारीसाधनको लोकेसन तथा आफूले पर्खिएको स्थानमा सवारी पुग्न लाग्ने अनुमानित समयबारे जानकारी लिन सकिनेछ। आगामी दिनमा थप सवारीसाधनलाई एपमा जोड्दै जाने परिषद्को योजना छ।

कार्यवाहक प्रमुख डंगोलले उपत्यकाको सार्वजनिक यातायातलाई सरल, सहज र पहुँचयुक्त बनाउन रात्रिकालीन सेवा विस्तार तथा विद्यार्थीका लागि बिहान सबेरैदेखि सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक रहेको बताइन्। उनले सार्वजनिक यातायात कुनै एक पालिकाको मात्र विषय नभएकाले काठमाडौं उपत्यकाका स्थानीय तहबीच समन्वय र वित्तीय साझेदारी आवश्यक रहेको बताइन्।

परिषद्का उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यात्रुले सार्वजनिक बस चढ्दा सहजताको अनुभूति हुने गरी प्रणाली सुधार गर्नुपर्ने बताए।

बैठकले चालु आर्थिक वर्षका लागि बस स्टपर तथा पिक–ड्रप प्वाइन्ट निर्धारण, रात्रि बस सञ्चालनका सर्त तय गर्ने, नगरपालिकासँग सम्झौताको मोडल बनाउने लगायत कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।

त्यस्तै, मुख्य बस स्टप र बसपार्कमा जीपीएस ट्र्याकिङसहित सार्वजनिक यातायात सूचना प्रणाली जडान गर्ने तथा नगदरहित भाडा प्रणाली लागू गर्न आवश्यक कानुनी पूर्वाधार तयार गर्ने कार्यक्रमसमेत स्वीकृत भएको छ।

यात्रुले टिकट लिनुपर्ने संस्कार विकास गर्न जनचेतनामूलक अभियान सञ्चालन गर्ने तथा सम्पदा र पर्यटकीय क्षेत्रलाई लक्षित सार्वजनिक यातायात सञ्चालनबारे अध्ययन गर्ने निर्णय पनि बैठकले गरेको छ।

परिषद्का कार्यकारी अधिकृत कुवेर नेपालीका अनुसार विगतमा विभिन्न तहबीचको समन्वय अभावका कारण कतिपय योजना अघि बढाउन कठिनाइ भएको थियो। नेपाल सरकारले प्राधिकरणको पुनर्संरचना गर्ने निर्णय गरेपछि चालु आर्थिक वर्षका कार्यक्रम अघि बढाइएको उनले बताए।