‘कांग्रेस फुट्न दिनु हुँदैन, संकटमा यही घर काम लाग्न सक्छ’ : चन्द्र भण्डारी

‘कांग्रेस फुट्न दिनु हुँदैन, संकटमा यही घर काम लाग्न सक्छ’ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीभित्र देखिएको मतभेदलाई संवाद र सुधारमार्फत समाधान गर्दै एकताको पक्षमा उभिन नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

कांग्रेसको इतर पक्षले राष्ट्रिय भेला आयोजना गरेपछि पार्टी विभाजनको सम्भावनातर्फ संकेत गर्दै भण्डारीले जुनसुकै अवस्थामा पनि पार्टी फुट्न दिन नहुने बताएका हुन्। उनले सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै पार्टीलाई पुरानो घरसँग तुलना गरेका छन्।

‘साथी हो, पार्टी फुट्न दिनु हुँदैन है। पुरानो हो, संकटमा काम लाग्न सक्छ। वर्षाको समयमा घर भत्काउँदा सबै भिज्नुपर्छ। असिना आयो भने ज्यान पनि जान सक्छ,’ भण्डारीले भनेका छन्।

उनले पार्टीभित्र कमजोरी भए त्यसलाई सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। पार्टीलाई कमजोर बनाउनेभन्दा विद्यमान समस्या पहिचान गरी सुधारको बाटो रोज्नुपर्ने उनको भनाइ छ।

भण्डारीले कांग्रेसको इतिहास र योगदानलाई समेत स्मरण गर्दै पार्टीको संरचना निर्माणमा धेरैको त्याग र बलिदान जोडिएको बताएका छन्। ‘घरका हरेक ढुङ्गा रगतले मुछिएको माटोले अडेको छ, खाँवाहरू शहीदका हड्डी हुन्। विगतमा सत्ताले भुलेको पक्कै हो। मर्यादालाई नबिर्सी,’ उनले भनेका छन्।

कांग्रेसभित्र संस्थापन र इतर पक्षबीच पछिल्लो समय बढिरहेको असन्तुष्टि र आन्तरिक विवादका बीच भण्डारीको यस्तो आह्वान आएको हो। उनले पार्टीभित्रको मतभेदलाई विभाजनको बाटोमा लैजानुभन्दा कमजोरी सुधार गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने सन्देश दिएका छन्।