

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले ‘गतिशील पुल’ को भूमिका निर्वाह गर्न सक्ने बताएका छन्।
शुक्रबार ललितपुरमा आयोजित ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया : विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालले दुवै छिमेकी मुलुकसँग सार्वभौम समानता, पारस्परिक सम्मान र साझा हितका आधारमा स्वतन्त्र तथा सन्तुलित सम्बन्ध अघि बढाउँदै आएको बताए।
उनले एसियाको तीव्र आर्थिक रूपान्तरणले साझा समृद्धिका लागि अभूतपूर्व अवसर सिर्जना गरेको उल्लेख गर्दै सहकार्य नै दिगो विकास र दीर्घकालीन समृद्धिको सबैभन्दा प्रभावकारी माध्यम भएको बताए।
मन्त्री खनालका अनुसार चीन र भारतको निरन्तर आर्थिक प्रगतिले नेपालसहित क्षेत्रीय मुलुकहरूलाई व्यापार विस्तार, लगानी आकर्षण, पूर्वाधार विकास, कनेक्टिभिटी, पर्यटन प्रवर्द्धन तथा आर्थिक सहकार्यका नयाँ अवसर उपलब्ध गराएको छ।
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको उल्लेख गर्दै उनले यसको मूल उद्देश्य नेपाली नागरिकको जीवनस्तर सुधार गर्नु रहेको स्पष्ट पारे। व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, प्रविधि, नवप्रवर्तन, पर्यटन तथा दिगो विकासका अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता भएको उनको भनाइ थियो।
दक्षिण एसियामा ठूलो आर्थिक सम्भावना हुँदाहुँदै पनि क्षेत्रीय आर्थिक एकीकरण अपेक्षाअनुसार अघि बढ्न नसकेको उल्लेख गर्दै मन्त्री खनालले कनेक्टिभिटी, सहज व्यापार, लगानी प्रवाह र आपूर्ति शृंखला सुदृढ गर्न सके क्षेत्रले उल्लेखनीय आर्थिक लाभ हासिल गर्न सक्ने बताए।
उनले सरकार आर्थिक रूपान्तरणलाई राष्ट्रिय प्राथमिकतामा राखेर गुणस्तरीय लगानी, पूर्वाधार विकास, निर्यात प्रवर्द्धन, स्वच्छ ऊर्जा, डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा निजी क्षेत्रको विकासमा विशेष जोड दिइरहेको जानकारी दिए।
नेपाल दुई तीव्र गतिमा विकसित अर्थतन्त्र चीन र भारतबीच अवस्थित भएकाले यस अवस्थालाई आर्थिक अवसरका रूपमा उपयोग गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उनले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट चीन र दक्षिण एसियालाई जोड्ने जीवन्त र गतिशील पुल बनाउने प्रतिबद्धता व्यक्त गरे।