सुनको मूल्य फेरि उकालो, तोलाको २ लाख ९६ हजार ९ सय रुपैयाँ पुग्यो

सुनको मूल्य फेरि उकालो, तोलाको २ लाख ९६ हजार ९ सय रुपैयाँ पुग्यो

काठमाडौं । लगातार तेस्रो दिन पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले बढेर २ लाख ९६ हजार रुपैयाँ पुगेको थियो। बुधबार पनि सुन प्रतितोला ४ हजार २ सय रुपैयाँले महँगिएको थियो।

यससँगै पछिल्ला तीन कारोबार दिनमा सुनको मूल्य प्रतितोला कुल १३ हजार १ सय रुपैयाँले वृद्धि भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १० रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदीको कारोबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा भइरहेको छ।

महासंघका अनुसार नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गत माघ १५ गते प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

यस्तै, चाँदीको मूल्य पनि सोही अवधिमा प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। त्यसको तीन दिनपछि अर्थात् माघ १८ गते चाँदीको मूल्य एकैदिन प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो दैनिक गिरावट मानिएको छ।