हानेपाका बज्राचार्य बने बागमतीकाे भौतिक पूर्वाधार मन्त्री

हानेपाका बज्राचार्य बने बागमतीकाे भौतिक पूर्वाधार मन्त्री

काभ्रेपलाञ्चोक । हाम्रो नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्।

नेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीमा नयाँ सरकार गठनको तयारी भइरहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हानेपालाई सरकारमा सहभागी गराउँदै बज्राचार्यलाई मन्त्री नियुक्त गरेका हुन्।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले पदबाट राजीनामा दिएकी थिइन्। मुख्यमन्त्री बानियाँको निर्देशनमा उनको राजीनामापछि हानेपालाई मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ।

हानेपा कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएसँगै एमाले–नेकपा गठबन्धनको सरकार गठनको समीकरणमा नयाँ चुनौती थपिएको छ। राप्रपाले समर्थन नगरेको अवस्थामा हानेपासँग सहकार्य गर्ने एमाले–नेकपाको तयारी रहेको चर्चा भइरहेका बेला हानेपा भने कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएको हो।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमाले र नेकपाबीच भएको सहमतिअनुसार बागमतीमा एमाले नेतृत्वमा सरकार गठन गर्ने तयारी भइरहेको छ।