

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘डिजिटल इकोनोमी: स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले स्पष्ट र महत्वाकांक्षी योजना ल्याउनुपर्ने धारणा राखे।
उनले सरकारले सबै ज्ञान र क्षमता आफूसँग मात्रै छ भन्ने सोच त्याग्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको अनुभव, दक्षता र बजारको गतिशीलतालाई स्वीकार गर्न आग्रह गरे। निजी क्षेत्रसँग साझेदारी गरेर अघि बढे मात्रै डिजिटल अर्थतन्त्रलाई तीव्र गतिमा विस्तार गर्न सकिने उनको भनाइ थियो।
सभापति थापाले डिजिटल अर्थतन्त्रलाई नेपालको आर्थिक विकासको मुख्य मेरुदण्ड बनाउन सकिने उल्लेख गर्दै यसलाई कुनै एक दलको होइन, राष्ट्रिय साझा एजेन्डाका रूपमा अघि बढाउनुपर्ने बताए। उनले यस क्षेत्रमा आवश्यक कानुनी र नीतिगत सुधारका लागि कांग्रेसका सांसदहरू संसदमा सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै डा. गोविन्द पोखरेल नेतृत्वको टोलीले डिजिटल अर्थतन्त्रसम्बन्धी अध्ययन र प्रतिवेदन सांसदहरूलाई उपलब्ध गराउने तयारी भइरहेको जानकारी पनि दिए।