

काठमाडौं । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलास्थित ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका १० आरोहीमध्ये चार जनाको शव फेला परेको छ।
सीएनएनले पाकिस्तानको अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अर्शद खानलाई उद्धृत गर्दै उद्धार टोलीले हालसम्म चार जनाको शव फेला पारेको जनाएको छ। यद्यपि, ती शवको औपचारिक पहिचान भने अझै हुन बाँकी रहेको बताइएको छ।
हिमपहिरोपछि बेपत्ता भएका आरोहीमध्ये विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित ६ जना नेपाली, एक अमेरिकी नागरिक म्यालोरी गाइस तथा ओमान र पाकिस्तानका पर्वतारोही रहेका छन्।
अल्पाइन क्लब अफ पाकिस्तानका महासचिव अयाज अहमद शिग्रीका अनुसार जीपीएसमार्फत बेपत्ता चार जना पर्वतारोहीको सम्भावित स्थान पहिचान गरिएको छ। मौसम अनुकूल भएलगत्तै ती स्थानमा केन्द्रित भएर खोज तथा उद्धार अभियानलाई थप तीव्र बनाइएको उनले जानकारी दिए।
पाकिस्तान सेना, उद्धारकर्मी र अल्पाइन क्लबको समन्वयमा हेलिकोप्टर तथा विशेष उपकरणसहित खोजी कार्य जारी रहेको छ। अधिकारीहरूले मौसम प्रतिकूल रहेकाले उद्धार अभियान चुनौतीपूर्ण बनेको बताएका छन्।
हालसम्म फेला परेका शवमध्ये कुनै पनि आरोहीको पहिचान औपचारिक रूपमा पुष्टि गरिएको छैन भने बेपत्ता अन्य आरोहीहरूको खोजी जारी रहेको छ।