गृहमन्त्री गुरुङ आज सुनसरी जाँदै, दुवै मृतकका परिवारसँग भेट गर्ने

गृहमन्त्री गुरुङ आज सुनसरी जाँदै, दुवै मृतकका परिवारसँग भेट गर्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी पुगेर हालैको झडपमा ज्यान गुमाएका दुवै व्यक्तिका परिवारसँग भेट गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गृहमन्त्री गुरुङले गत साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता तथा सोही घटनामा घाइते भई उपचारका क्रममा आज निधन भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम रहेको छ।

गृहमन्त्रीसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि सुनसरी जाने कार्यक्रम रहेको छ। स्वास्थ्यमन्त्री मेहताको गृहजिल्ला पनि सुनसरी नै हो।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री गुरुङबीच तराईका विभिन्न जिल्लामा विकसित पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको थियो। सोही छलफलपछि गृहमन्त्री गुरुङ घटनास्थल रहेको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जतर्फ प्रस्थान गर्न लागेका हुन्।

सरकारले घटनाको स्थलगत अवस्था, पीडित परिवारको अवस्था तथा शान्ति–सुरक्षा व्यवस्थाबारे प्रत्यक्ष जानकारी लिएर आवश्यक निर्णय प्रक्रिया अघि बढाउने जनाएको छ।