पूर्वअर्थमन्त्री रामशरण महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्ने माग विशेष अदालतद्वारा अस्वीकार

पूर्वअर्थमन्त्री रामशरण महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्ने माग विशेष अदालतद्वारा अस्वीकार

काठमाडौं। विशेष अदालतले भ्रष्टाचार मुद्दा सामना गरिरहेका पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतविरुद्धको मुद्दा तत्कालका लागि मुल्तबीमा राख्ने माग अस्वीकार गरेको छ।

न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सुनुवाइपछि मुद्दा स्थगित (मुल्तबी) गर्न नमिल्ने आदेश दिएको हो।

डा. महतकी पत्नी रोशनी महतले आफ्नो पति ‘फ्रन्टोटेम्पोरल डिमेन्सिया’ तथा अल्जाइमर्स रोगका कारण मानसिक र शारीरिक रूपमा गम्भीर अशक्त भएको, स्मरणशक्ति गुमाएको तथा अदालतमा उपस्थित भएर बयान दिन असमर्थ रहेको उल्लेख गर्दै मुद्दा मुल्तबीमा राख्न निवेदन दिएकी थिइन्।

तर विशेष अदालतले उक्त माग अस्वीकार गर्दै आदेशमा भनेको छ, “प्रतिवादी रामशरण महत निवेदकसँग अदालतमा उपस्थित भएका बखत निजको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी इजलासबाट कानुनबमोजिम उपयुक्त आदेश हुन सक्ने हुँदा हालका लागि मुद्दा मुल्तबीमा राख्न मिलेन। कानुनबमोजिम गर्नु।”

अदालती प्रक्रियामा मुल्तबी भन्नाले अन्तिम निर्णय हुनुपर्ने अवस्थामा रहेको मुद्दालाई केही समयका लागि स्थगित गर्ने प्रक्रिया हो। यद्यपि, यस्तो मुद्दा आवश्यक पर्दा पुनः अघि बढाउन सकिने व्यवस्था रहन्छ।

यसअघि विशेष अदालतले डा. महतको स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी लिन वीर अस्पतालको मेडिकल बोर्डबाट स्वास्थ्य परीक्षण गराई प्रतिवेदन पेस गर्न आदेश दिएको थियो।

डा. महत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा प्रतिवादी छन्। यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २२ गते पाँच जना पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारका अनुसार डा. महतले विमानस्थल निर्माणको परिमार्जित २१ करोड ५९ लाख अमेरिकी डलरको लागत स्वीकृत गराउन मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको तथा परियोजनासम्बन्धी निर्णयमा बदनियतपूर्ण भूमिका खेलेको आरोप लगाइएको छ।