

काठमाडौं। फेरान टोरेसको अतिरिक्त समयको निर्णायक गोलमा साविक विजेता अर्जेन्टिनालाई १-० ले पराजित गर्दै स्पेनले फिफा विश्वकप-२०२६ को उपाधि जितेको छ। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सोमबार बिहान भएको रोमाञ्चक फाइनलमा अतिरिक्त समयको १०६औँ मिनेटमा टोरेसले गरेको गोल नै स्पेनलाई १६ वर्षपछि दोस्रो पटक विश्व च्याम्पियन बनाउन पर्याप्त बन्यो।
स्पेनले यसअघि सन् २०१० मा पहिलो पटक विश्वकप जितेको थियो। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको २३औँ संस्करणको उपाधिसँगै स्पेनले दोस्रो विश्वकप आफ्नो नाममा लेखाएको हो।
सन् २०२२ को विश्वविजेता अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकप जित्ने अवसर गुमायो। अर्जेन्टिना यसअघि सन् १९७८, १९८६ र २०२२ मा विश्व च्याम्पियन बनेको थियो।
निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। खेलभर स्पेनले बल नियन्त्रण र आक्रमणमा स्पष्ट दबाब बनाए पनि निर्णायक फिनिसिङ गर्न सकेको थिएन।
निर्धारित समयको इन्जुरी समयमा अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि संख्यात्मक लाभ उठाउँदै स्पेनले अतिरिक्त समयमा गोल निकाल्न सफल भयो।
१०६औँ मिनेटमा आएको टोरेसको गोलले स्पेनलाई विश्वकपको उपाधि दिलायो। ११४औँ मिनेटमा टोरेसले अर्को गोल गरे पनि अफसाइडका कारण त्यो गोल मान्यता पाउन सकेन।
फाइनलमा गोल गर्न नसकेपछि अर्जेन्टिनी कप्तान लियोनल मेसी गोल्डेन बुटको दौडबाट बाहिरिए। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका मेसीले इजिप्टविरुद्धको खेलपछि गोल गर्न सकेनन्। यससँगै प्रतियोगितामा सर्वाधिक १० गोल गरेका फ्रान्सका कप्तान किलियन एमबाप्पे गोल्डेन बुट विजेता बने।
फिफा विश्वकप–२०२६ पहिलो पटक तीन देश—अमेरिका, मेक्सिको र क्यानडाका १६ सहरमा संयुक्त रूपमा आयोजना गरिएको थियो। प्रतियोगितामा पहिलो पटक ४८ राष्ट्र सहभागी भएका थिए भने कुल १०४ खेल खेलाइएका थिए।
अब विश्वकपको २४औँ संस्करण सन् २०३० मा स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्नेछन्। विश्वकपको १०० वर्ष पूरा भएको अवसरमा उद्घाटन खेलहरू भने उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा पनि खेलाइनेछन्।