काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सञ्चार गृहलाई लक्षित गर्दै गरिएको धम्कीपूर्ण गतिविधिको कडा शब्दमा भर्त्सना गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरेको स्मरण गराउँदै राजधानीका प्रमुख सञ्चारमाध्यमका मुख्य प्रवेशद्वारमा गाडी पार्किङ गरेर आवतजावत अवरुद्ध पार्ने प्रयास लोकतान्त्रिक मूल्यविपरीत भएको बताए।
परियारले सत्यसँग डराउनेहरूले मात्रै यस्ता गतिविधि गर्ने जिकिर गर्दै सञ्चार गृह घेराबन्दी गरेर सत्यको आवाज रोक्न नसकिने स्पष्ट पारे। सत्यलाई दबाउने प्रयास हत्केलाले सूर्य छेक्न खोजेजस्तै हुने उनको भनाइ थियो।
उनले तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पनि नेपाली पत्रकारिता नझुकेको स्मरण गराउँदै आज केही गाडी तेर्स्याएर सञ्चारमाध्यमलाई तर्साउन नसकिने बताए। पत्रकारिताको स्वतन्त्र इतिहासलाई कसैले कमजोर बनाउन नसक्ने उनको धारणा थियो।
सचेतक परियारले लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा दृढ रहेको उल्लेख गर्दै प्रेसमाथि हुने कुनै पनि प्रकारको दबाब, त्रास वा अराजक गतिविधि स्वीकार्य नहुने बताए।
उनले सबै सञ्चारगृह र पत्रकारले निर्भीक तथा निर्वाध रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकार र गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन्।