काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सोमबार भएको शंकास्पद गाडी पार्किङ प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधिसभामा कुनै धारणा नराखेका छन्। विपक्षी दलहरूले उक्त विषयलाई संसद्मा उठाए पनि रास्वपाका सांसदहरू भने आफ्ना निर्वाचन क्षेत्र र स्थानीय समस्यामै केन्द्रित रहे।
आकस्मिक, शून्य र विशेष समयमा बोल्दै रास्वपा सांसद अमरेश कुमार सिंहले सर्लाहीका युवा विवेक मण्डलको आत्मदाहपछि भएको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरे। पछिल्लो एक सातामै तीन युवाले आत्मदाह गरेको उल्लेख गर्दै उनले बढ्दो जननिराशा अन्त्य गर्न संसद् र सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए। लोकतन्त्र र जनताको संरक्षण नै सबैभन्दा ठूलो प्राथमिकता हुनुपर्ने उनको भनाइ थियो।
यस्तै, सांसद लालविक्रम थापाले सुनसरीमा विद्युत् मर्मतका क्रममा सवारी दुर्घटनामा दुई प्राविधिकको मृत्यु भएको घटनामा परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरे। सांसद दीपक कुमार साहले सुनसरी–४ का विभिन्न क्षेत्रमा एक सातादेखि दैनिक १२ देखि १८ घण्टासम्म विद्युत् अवरोध हुँदा जनजीवन, शिक्षा, खानेपानी तथा साना व्यवसाय प्रभावित भएको बताए।
सांसद शम्भु कुमार यादवले सिरहाको गोलबजारमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको घटनालाई सार्वजनिक सुरक्षासँग जोडिएको गम्भीर विषय भन्दै जोखिम व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराए।
यद्यपि, सरकारसँग जोडिएको शंकास्पद गाडी पार्किङ प्रकरणबारे रास्वपाका कुनै पनि सांसदले टिप्पणी गरेनन्। विपक्षी दलहरूले भने अनलाइनखबर, हिमालय टिभी, कान्तिपुर मिडिया हाउस, नेपाली कांग्रेसका सभापति गगन थापाको निवास तथा भाटभटेनी अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनामाथि छानबिनको माग गरेका थिए।
यस क्रममा नेकपा सांसद रमेश कुमार मल्लले उक्त घटनालाई ‘राज्य संरक्षित गतिविधि’ को संज्ञा दिएपछि रास्वपा सांसद टीका संग्रौलाले नियमापत्ति जनाउँदै एक व्यक्तिको कार्यलाई लिएर सम्पूर्ण राज्यलाई दोष दिन नमिल्ने बताइन्।
त्यसैगरी, कांग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘श्री ८’ को संज्ञा दिँदै सरकारमाथि प्रश्न उठाएपछि रास्वपा सांसद शिवशंकर यादवले उक्त अभिव्यक्ति संविधान र संसदीय मर्यादाविपरीत रहेको भन्दै संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए।