गणेश नेपाली मृत्यु प्रकरण : परिवारले आज जाहेरी दर्ता गर्दै

गणेश नेपाली मृत्यु प्रकरण : परिवारले आज जाहेरी दर्ता गर्दै

काठमाडौं । गणेश नेपालीको आत्मदाहपछि भएको मृत्यु प्रकरणमा उनका परिवारले प्रहरीमा जाहेरी दर्ता गर्ने तयारी गरेका छन्। जाहेरी दिनका लागि परिवारका सदस्यहरू प्रहरी वृत्त कालीमाटी पुगेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जाहेरी दर्तापछि कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिए।

उनका अनुसार प्रत्येक अप्राकृतिक मृत्युको घटनामा प्रहरीमा जाहेरी दर्ता हुने, त्यसपछि पोस्टमार्टम, शव जिम्मा लगाउने तथा आवश्यक परे मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइने कानुनी व्यवस्था रहेको छ।

आइतबार नेपालीको परिवार र प्रशासनबीच ९ बुँदे सहमति भएको थियो। त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि भएको विवादका क्रममा गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो।

घटनापछि प्रहरीले सोधपुछका लागि नगर प्रहरी र घटनाका प्रत्यक्षदर्शीलाई बोलाएर बयान लिएको थियो। आवश्यक विवरण संकलनपछि उनीहरूलाई छाडिएको प्रहरीले जनाएको छ। यस घटनाको छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको छ।