२५ वर्षमै दक्षिण अफ्रिकी फुटबलर जेडन एडम्सको निधन

२५ वर्षमै दक्षिण अफ्रिकी फुटबलर जेडन एडम्सको निधन

काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जेडन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको कारण भने सार्वजनिक गरिएको छैन।

दक्षिण अफ्रिकी फुटबल खेलाडी संघ (एसएएफपियू)ले शनिबार विज्ञप्ति जारी गर्दै मामेलोडी सनडाउन्स तथा राष्ट्रिय टोली बाफाना बाफाना का मिडफिल्डर एडम्सको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो।

संघले विज्ञप्तिमा एडम्सले हालै सम्पन्न फिफा विश्वकप २०२६ मा साहस, समर्पण र गौरवका साथ दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेको उल्लेख गर्दै उनको निधन परिवार, क्लब, राष्ट्रिय टोली र समग्र फुटबल जगत्का लागि अपूरणीय क्षति भएको जनाएको छ।

एडम्सले विश्वकपमा दक्षिण अफ्रिकाका तीन खेल खेलेका थिए, जसमध्ये दुई खेलमा उनी सुरुआती रोजाइमा परेका थिए। चेक गणतन्त्रविरुद्धको खेलअघि उनकी हजुरआमाको निधन भएको पीडाबीच पनि उनले टोलीका लागि मैदान उत्रिँदै आफ्नो व्यावसायिकता देखाएका थिए। त्यसपछि उनले मेक्सिकोविरुद्ध पनि खेले भने दक्षिण कोरियाविरुद्ध वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए।

दक्षिण अफ्रिकाका खेलकुद, कला तथा संस्कृति मन्त्री गेटन म्याकेन्जीले एडम्सको समर्पण र अनुशासनको प्रशंसा गर्दै देशले एक प्रतिभाशाली युवा खेलाडी गुमाएको बताएका छन्।

विश्वकपअघि एडम्सले मामेलोडी सनडाउन्सलाई क्याफ च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। स्टेलेनबोस एफसीबाट सनडाउन्समा आबद्ध भएका उनले लिग उपाधि जितेपछि आफ्नो पदक सन् २०२३ मा निधन भएका पूर्व सहकर्मी ओश्विन एन्ड्रिसको सम्झनामा समर्पण गरेका थिए।