

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले करिब दुई वर्षपछि स्वदेश फर्किने घोषणा गर्दै यसै वर्ष डिसेम्बरमा अदालतसमक्ष आत्मसमर्पण गर्ने बताएकी छन्। हाल भारतमा निर्वासनमा रहेकी ७८ वर्षीया हसिनाले आफू पक्राउ पर्ने वा ज्यान गुमाउने जोखिम भए पनि बंगलादेश फर्किने निर्णयबाट पछि नहट्ने स्पष्ट पारेकी छन्।
समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा उनले भनिन्, “म फर्किएपछि पक्राउ पर्न सक्छु, मेरो हत्या पनि हुन सक्छ। तर म आफ्नै देश फर्किन्छु। यदि मर्नु नै छ भने आफ्नै देशको माटोमा मर्न चाहन्छु।”
हसिनाले आफू एक्लै नफर्कने बताउँदै भारत तथा अन्य देशमा रहेका अवामी लिगका धेरै वरिष्ठ नेताहरू पनि बंगलादेश फर्केर अदालतमा आत्मसमर्पण गर्ने जानकारी दिइन्। उनले स्वदेश फर्कने निर्णय आफ्नो व्यक्तिगत भएको र यसबारे भारत वा अन्य कुनै सरकारसँग कुनै परामर्श नगरेको दाबी गरिन्।
भारतमा रहँदै पनि आफू अवामी लिगको संगठन पुनर्गठनमा सक्रिय रहेको बताउँदै उनले हालसम्म ३०० निर्वाचन क्षेत्रमध्ये १२५ क्षेत्रका नेता–कार्यकर्तासँग अनलाइनमार्फत संवाद गरिसकेको जानकारी दिइन्।
आफूविरुद्ध दायर गरिएका सबै मुद्दा राजनीतिक प्रेरित भएको दाबी गर्दै हसिनाले अदालतमा सत्य बाहिर आउने विश्वास व्यक्त गरिन्। उनले आफ्नो सरकारले गल्ती गरेको भए त्यसको अन्तिम फैसला जनताले गर्ने पनि बताइन्।
शेख हसिनाको सम्भावित स्वदेश फिर्तीले भारत–बंगलादेश सम्बन्धमा समेत नयाँ बहस सुरु हुने अनुमान गरिएको छ। यसअघि बंगलादेशको अन्तरिम सरकारले भारतसँग उनको सुपुर्दगी माग गरेको थियो। हसिनाले भने अब त्यसको आवश्यकता नरहेको भन्दै आफू स्वेच्छाले बंगलादेश फर्किन लागेको बताएकी छन्।
सन् २०२४ मा विद्यार्थी आन्दोलनपछि चर्किएको राजनीतिक संकटका बीच हसिना भारत गएकी थिइन्। त्यसयता उनीविरुद्ध बंगलादेशमा विभिन्न मुद्दा दर्ता भएका छन्। गत वर्ष विशेष अदालतले आन्दोलनका क्रममा भएको हिंसासम्बन्धी एक मुद्दामा उनको अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाएको थियो। हसिनाले उक्त निर्णयलाई राजनीतिक प्रतिशोधको परिणाम भन्दै अस्वीकार गर्दै आएकी छन्।