

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आगलागीको घटनामा एक व्यक्ति गम्भीर घाइते भएका छन्।
काठमाडौं प्रहरीका अनुसार बिहान करिब ६:१५ बजे ४५ वर्षीय आश्विन राउत आफ्नै घरको भान्सामा आगलागीबाट घाइते भएका हुन्। प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको जनाएको छ।
प्रहरीका अनुसार चिकित्सकले राउतको शरीरको करिब ५० प्रतिशत भाग जलेको बताएका छन्। उनी हाल अस्पतालमा उपचाररत छन्।
घटनाका बेला राउतकी श्रीमती र छोरा घरमा नरहेको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईले जानकारी दिए।
प्रहरीले घटनाका सबै पक्षबारे अनुसन्धान जारी राखेको जनाएको छ।