गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि तत्काल भारत नलैजाने निर्णय

गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि तत्काल भारत नलैजाने निर्णय

काठमाडौं । सरकारले जलनका गम्भीर बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई तत्काल थप उपचारका लागि भारत नलैजाने निर्णय गरेको छ।

प्रधानमन्त्री बालेन शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उपचारमा संलग्न चिकित्सकको सिफारिसपछि नयाँदिल्लीस्थित एम्स अस्पताल लैजाने सम्पूर्ण तयारी पूरा गरिएको भए पनि बिरामीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै तत्काल स्थानान्तरण नगर्ने निर्णय गरिएको हो।

सरकारले यसअघि गणेश नेपालीलाई भारत लैजान एयर एम्बुलेन्सको व्यवस्था गर्नुका साथै उपचारको सम्पूर्ण खर्च सरकारी कोषबाट व्यहोर्ने निर्णय गरेको थियो। गृहमन्त्री सुदन गुरुङ पनि उद्धार र उपचार व्यवस्थापनमा सक्रिय रूपमा खटिएका थिए।

हाल वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत नेपालीलाई अहिलेको अवस्थामा अन्यत्र सार्दा जोखिम बढ्न सक्ने चिकित्सकहरूको निष्कर्षपछि स्थानान्तरण स्थगित गरिएको हो। चिकित्सकहरूले स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत पठाउन उपयुक्त हुने सुझाव दिएका छन्।

गृहमन्त्री गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू उपचार व्यवस्थापनका लागि वीर अस्पतालमै निरन्तर समन्वय गरिरहेका छन्।

बिहीबार वीर अस्पतालमा भर्ना गरिएका गणेश नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ। उनको उपचार प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले गरिरहेको छ।