गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक सर्वसम्मतले पारित

गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक सर्वसम्मतले पारित

पोखरा । गण्डकी प्रदेशसभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन र व्यवस्थापन गर्ने विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले ‘गाँजाखेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मत रूपमा पारित भएको घोषणा गरेका हुन्।

यसअघि उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले विधेयक छलफलका लागि सभामा प्रस्तुत गरेकी थिइन्। छलफलमा प्रदेशसभा सदस्यहरू अशोक श्रेष्ठ, गणेशमान गुरुङ, सुशीला सिम्खडा र बिन्दु पौडेलले आफ्नो धारणा राखेका थिए।

विधेयक पारित भएसँगै गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि कानुनी रूपमा गाँजाखेती गर्ने बाटो खुलेको छ। विधेयकअनुसार सरकारले तोकेको क्षेत्रमा मात्रै अनुमति लिएर गाँजाखेती गर्न पाइनेछ।

विधेयकमा गाँजाको बोटमा रहेको नशालु पदार्थ टीएचसी (THC) को मात्रा ०.३ प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था गरिएको छ। साथै, गाँजाखेती गर्न इच्छुक व्यक्ति वा संस्थाले अनिवार्य रूपमा सरकारी अनुमति लिनुपर्ने र उत्पादन बिक्री वा कटानअघि रासायनिक परीक्षण गराउनुपर्ने प्रावधानसमेत समावेश गरिएको छ।