आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी पानी पर्ने

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी पानी पर्ने

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले शुक्रबार अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार शुक्रबार बिहान देशभरको आकाश अधिकांश बदली भएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानभन्दा केही माथि रहे पनि आगामी दिनमा नेपालतर्फ नजिकिने सम्भावना रहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा हिमाली र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराईसहित पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।

राति पनि अधिकांश भूभागमा बदली कायम रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा धेरै स्थानमा तथा अन्य प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्र, मधेससहित केही तराई क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिमप्रति सतर्क रहन महाशाखाले आग्रह गरेको छ।