

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजु पाण्डेले गोकर्णेश्वर क्षेत्रका बासिन्दाले खानेपानी नपाएको अवस्था जारी रहे मेलम्ची खानेपानी वितरणमै अवरोध गर्ने चेतावनी दिएका छन्। उनले पानी वितरणमा भइरहेको अनियमितता र कर्मचारीको लापरबाही तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन्।
संघीय संसद्अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले मेलम्चीको पानी आउने मुख्य क्षेत्रका स्थानीय नै खानेपानीबाट वञ्चित हुनु विडम्बनापूर्ण भएको बताए। समस्या समाधान नभए स्थानीयसँग मिलेर ड्याम बन्द गर्ने र पाइपलाइन अवरुद्ध गर्नेसम्मको कदम चाल्न बाध्य हुने चेतावनी उनले दिए।
उनले भने, “यदि जनताले खानेपानी पाएनन् भने ड्याम बन्द गरिदिन्छौँ। आवश्यक परे पाइप रोक्ने वा फुटाउनेसम्मको कदम चाल्न तयार छु। गोकर्णको पानी गोकर्णकै जनताले नपाउने अवस्था स्वीकार्य छैन।”
सांसद पाण्डेले हालै गोकर्णेश्वर क्षेत्रमा पुगेका बेला पानीको अभावमा स्थानीय बासिन्दा, विशेषगरी ज्येष्ठ नागरिक, पीडित बनेको दृश्य आफूले प्रत्यक्ष देखेको उल्लेख गर्दै खानेपानीको समस्या अत्यन्तै संवेदनशील बनेको बताए।
उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारीहरूको कार्यशैलीमाथि पनि कडा प्रश्न उठाए। पानी वितरणमा मनपरी हुने गरेको, केही स्थानमा प्राथमिकता दिइने र अन्य क्षेत्रलाई बेवास्ता गरिने भन्दै उनले संस्थाभित्र ‘सञ्जाल’ सक्रिय रहेको आरोप लगाए।
“म जस्तो सांसदले नै यति दुःख पाउनुपर्छ भने सर्वसाधारणको अवस्था कस्तो होला?” भन्दै उनले कर्मचारीतन्त्र अझै पनि जनउत्तरदायी बन्न नसकेको टिप्पणी गरे।
रास्वपाले जनतासामु ‘रकेट शैली’मा काम गर्ने प्रतिबद्धता व्यक्त गरे पनि सरकारी संयन्त्र र कर्मचारीतन्त्रका कारण अपेक्षित सुधार हुन नसकेको उनको गुनासो थियो।
सांसद पाण्डेले आरुबारीमा निर्माणाधीन दुई करोड लिटर क्षमताको पानी ट्यांकीको काम रोकिएको उल्लेख गर्दै गोकर्णेश्वर नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका बासिन्दा खानेपानी समस्याबाट पीडित रहेको बताए। उनले पूर्वाधार विकास समितिलाई तत्काल अनुगमन गरी समस्या समाधानका लागि पहल गर्न आग्रह गरे।
साथै, केयूकेएलको नयाँ नेतृत्वबाट सुधारको अपेक्षा रहेको उल्लेख गर्दै उनले अवस्था यथावत् रहे स्थानीयलाई संगठित गरेर सशक्त आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन्।