

काठमाडौं । सरकारले कैलालीस्थित गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता तथा शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
सरकारको निर्णयसँगै गेटा अस्पताल अब स्वास्थ्य सेवा प्रदान गर्नुका साथै चिकित्सा शिक्षा, चिकित्सक तथा स्वास्थ्यकर्मी उत्पादन र अनुसन्धानका गतिविधिसमेत सञ्चालन गर्ने आधार तयार भएको छ।
सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँच विस्तार गर्ने लक्ष्यसहित गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने सरकारको योजना रहेको छ।
यो निर्णयले सुदूरपश्चिमका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनुका साथै प्रदेशमै चिकित्सा शिक्षा अध्ययन गर्ने अवसरसमेत विस्तार हुने अपेक्षा गरिएको छ।