आर्थिक सुधारमा निजी क्षेत्रसँग हातेमालो गर्ने प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता

आर्थिक सुधारमा निजी क्षेत्रसँग हातेमालो गर्ने प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको आर्थिक गतिविधिलाई गति दिन, लगानीमैत्री वातावरण निर्माण गर्न तथा उद्योग–व्यवसाय सञ्चालनमा देखिएका अवरोध हटाउन निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकतामा राख्ने बताएका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योगी–व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री शाहले आर्थिक सुधार, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धि सरकारको प्रमुख प्राथमिकता रहेको स्पष्ट पारे।

उनले निजी क्षेत्रलाई मुलुकको आर्थिक विकासको महत्वपूर्ण साझेदारको रूपमा उल्लेख गर्दै उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्री शाहले उद्योग तथा लगानीमैत्री वातावरण बनाउन आवश्यक नीतिगत, कानुनी र प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै निजी क्षेत्रको मनोबल वृद्धि गर्ने खालका निर्णयमा सरकार सकारात्मक रहेको बताए।

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सार्वजनिक सेवा प्रवाहलाई थप सरल बनाउने व्यवस्था तथा सरकार र निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादको आवश्यकता औंल्याएका थिए।

उनीहरूले लगानीको वातावरण सुधार गर्न प्रशासनिक झन्झट कम गर्न, नीतिगत स्पष्टता कायम गर्न र व्यवसायमैत्री निर्णयहरू शीघ्र कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका थिए।

प्रधानमन्त्री शाहले निजी क्षेत्रबाट प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिइने उल्लेख गर्दै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण र सुधारका कार्यक्रम अघि बढाइने बताए। उनले आर्थिक सुधारको अभियानमा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाइने स्पष्ट पारे।

सरकार र निजी क्षेत्रका प्रतिनिधिबीच भएको उक्त छलफलले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, रोजगारी सिर्जना तथा निजी क्षेत्रमैत्री नीतिगत सुधारलाई थप गति दिने अपेक्षा गरिएको छ।