

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रदेखि तल्लो तहसम्म गठन हुँदै आएका विषयगत विभागको व्यवस्था अन्त्य गर्दै नीति निर्माण, अनुसन्धान र वैचारिक बहसको जिम्मेवारी ‘नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’लाई दिने निर्णय गरेको छ।
पार्टी सभापति गगन थापाका अनुसार विगतमा विभागले गर्दै आएका सबै नीतिगत तथा विषयगत कार्य अब उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको प्रतिष्ठानमार्फत सञ्चालन हुनेछन्। प्रतिष्ठानअन्तर्गत विषयगत उपसमिति गठन गरी सम्बन्धित क्षेत्रका संयोजक तोकिएको उनले जानकारी दिए।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पारित संशोधित विधानले विभाग गठनको व्यवस्था हटाएको थियो। सोही व्यवस्थाअनुसार अब पार्टीका नीतिगत धारणा, अध्ययन, अनुसन्धान, बहस र सुझावहरू प्रतिष्ठानमार्फत तयार पारिनेछ।
नीति प्रतिष्ठानले विभिन्न राष्ट्रिय तथा समसामयिक विषयमा पार्टीको धारणा तयार गर्न १२ वटा विषयगत उपसमिति गठन गरेको छ। ती उपसमितिले आफ्नो कार्यक्षेत्रअनुसार अध्ययन, बहस, अन्तरसंवाद र नीति निर्माणको काम अघि बढाइरहेका छन्। पार्टीले हाल सञ्चालन गरिरहेका नीतिगत छलफल तथा संवाद कार्यक्रमलाई ‘ग्रीन टेबल’ नाम दिइएको छ। केन्द्रीय कार्यालयमा विभिन्न विषयमा नियमित बहस र अन्तरक्रिया भइरहेको जनाइएको छ।
नीति प्रतिष्ठानअन्तर्गत विभिन्न क्षेत्रका संयोजक यसप्रकार छन्–
उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको नीति प्रतिष्ठानको उपप्रमुखमा केन्द्रीय सदस्य मधु आचार्य रहेका छन् भने निर्देशकमा डा. सुरेश आचार्य मनोनीत भएका छन्। पार्टी विधानअनुसार प्रतिष्ठानमा प्रमुखसहित ५१ सदस्य रहने व्यवस्था भए पनि हाल ४७ सदस्यीय समिति गठन गरिएको छ। कांग्रेसले विभागको सट्टा नीति प्रतिष्ठानलाई सशक्त बनाउने निर्णयसँगै अब पार्टीका नीतिगत बहस, वैचारिक दिशा र विषयगत अवधारणाहरू एउटै संस्थागत संयन्त्रमार्फत अघि बढ्ने अपेक्षा गरिएको छ।