

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी अधिकांश विद्यार्थीले ग्रेड सुधार गर्दै उत्तीर्ण भएका छन्।
बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा सहभागी १ लाख २९ हजार ११४ परीक्षार्थीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको ६४.६९ प्रतिशत हो।
बोर्डले असार १ देखि ९ गतेसम्म सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको १४ दिनमै सार्वजनिक गरेको हो। यसअघि वैशाख २८ गते प्रकाशित नियमित एसईई नतिजामा दुई विषयसम्म अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई ग्रेड सुधार गर्ने अवसर दिइएको थियो।
नतिजाअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० जीपीए प्राप्त गरेका छन्। त्यसपछि १६ हजार ४६७ जनाले २.८० देखि ३.२० जीपीए, १४ हजार ३६२ जनाले २.०० देखि २.४० जीपीए, १ हजार १९५ जनाले ३.२० देखि ३.६० जीपीए र ४५ जनाले १.६० देखि २.०० जीपीए हासिल गरेका छन्।
यसपटक १६ जना विद्यार्थीले ३.६० देखि ४.०० जीपीए प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेका छन्। बोर्डले परीक्षा सञ्चालनसम्बन्धी नियम उल्लंघन गरेको ठहर गर्दै ७ जना परीक्षार्थीको परीक्षा रद्द गरेको पनि जनाएको छ।
एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा बोर्डको वेबसाइट, आईभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।