सरकारलाई नागरिकको ‘लाइफ’ भन्दा सामाजिक सञ्जालको ‘लाइक’ को बढी चिन्ता : गगन थापा

सरकारलाई नागरिकको ‘लाइफ’ भन्दा सामाजिक सञ्जालको ‘लाइक’ को बढी चिन्ता : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले विधि र प्रक्रियाभन्दा परिणामलाई प्राथमिकता दिने नाममा कानुनविपरीत काम गरिरहेको आरोप लगाएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सरकारको १०० दिने कार्यकालको समीक्षा कार्यक्रममा बोल्दै थापाले वर्तमान सरकारको कार्यशैली २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारसँग मिल्दोजुल्दो रहेको बताए।

‘विधि र प्रक्रिया केही होइन, परिणाम दिन्छु भनेर सरकार अघि बढिरहेको छ,’ उनले भने, ‘यस्तो अभ्यास हामीले विगतमा पनि देखेका हौँ। नेकपाको सरकारभन्दा अहिलेको सरकार फरक देखिएको छैन।’

थापाले सुकुम्बासी बस्ती हटाउने कार्यलाई उदाहरण दिँदै भूमिहीन नागरिकको समस्या कानुन बनाएर समाधान गर्न सकिने भए पनि सामाजिक सञ्जालमा लोकप्रियता बटुल्न हतारमा डोजर चलाइएको आरोप लगाए।

उनले वर्तमान सरकार नागरिकको जीवनभन्दा सामाजिक सञ्जालमा प्राप्त हुने ‘लाइक’प्रति बढी केन्द्रित भएको टिप्पणी गरे।

‘यो सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ। भूमिहीनहरूको समस्या कानुन बनाएर समाधान गरेको भए सामाजिक सञ्जालमा त्यति चर्चा हुँदैनथ्यो। त्यसैले सुकुम्बासी बस्तीमा डोजर चलाइयो र सामाजिक सञ्जालमा चर्चा बटुलियो,’ उनले भने।

यद्यपि, थापाले प्रधानमन्त्री शाहको एक पक्षको प्रशंसा पनि गरे। उनले प्रधानमन्त्रीले बालुवाटारभन्दा सिंहदरबारबाट शासन सञ्चालन गर्न खोजेको कार्यशैली सकारात्मक रहेको उल्लेख गरे।