

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालमा प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न नसक्ने बताएका छन्।
आइतबार नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता : सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै उनले सरकार प्रेस स्वतन्त्रता संकुचन गर्ने पक्षमा नरहेको स्पष्ट पारे।
मन्त्री तिमिल्सिनाले लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता भएकाले यसको महत्वबारे सरकार पूर्ण रूपमा जानकार रहेको बताए। उनले सरकारतर्फ संकेत गर्दै प्रेस स्वतन्त्रता खुम्च्याउने प्रयास भइरहेको भन्ने आशंका व्यक्त गरिएकामा पत्रकारहरूलाई चिन्तित नहुन आग्रह गरे।
“सरकार प्रेस स्वतन्त्रता संकुचन गर्न लागेको भन्ने संकेत गरिएको मैले सुनेको छु। त्यस विषयमा पत्रकार मित्रहरूलाई चिन्तित नहुन आग्रह गर्न चाहन्छु। हामीलाई लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी छ। आजको मूल प्रश्न प्रेस स्वतन्त्रता हुने कि नहुने भन्ने होइन, कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन,” उनले भने।
उनले संवैधानिक हक–अधिकारको कार्यान्वयनमा कुनै समस्या भए त्यसको समाधानका लागि देशभित्र पर्याप्त संवैधानिक तथा कानुनी संयन्त्र रहेको उल्लेख गरे। सञ्चारमन्त्री तिमिल्सिनाले कुनै विषयमा फरक–फरक व्याख्या र धारणा आउन सक्ने भन्दै त्यस्ता विषयमा सरकार पत्रकारसँग खुला संवाद गर्न तयार रहेको बताए।
उनका अनुसार कसैले कुनै विषयलाई प्रेस स्वतन्त्रताको हननका रूपमा लिन सक्छ भने अर्को पक्षले त्यसलाई फरक ढंगले व्याख्या गर्न सक्छ। त्यसैले विवादित विषयमा संवाद र छलफलमार्फत साझा निष्कर्षमा पुग्न सकिने उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले सरकार जिम्मेवार हुनुपर्नेमा कुनै विवाद नरहेको उल्लेख गर्दै सरकार गैरजिम्मेवार बने त्यसबारे प्रश्न उठाउनु पत्रकारको प्रमुख दायित्व भएको बताए। “यदि सरकार कतै गैरजिम्मेवार भएको छ भने त्यसबारे प्रश्न उठाउनु पत्रकारहरूको सबैभन्दा ठूलो दायित्व हो। त्यसमा कुनै शंका छैन,” उनले भने।